नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानमा खटिएर गएका केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित जिल्लाको वस्तुस्थितिबारे केन्द्रीय नेतृत्वलाई जानकारी दिँदै पार्टीलाई बलियो बनाउन केन्द्रदेखि नै एकताको सन्देश दिन जरुरी भएको धारणा राखेका छन्।
पार्टीले वैशाख २५ देखि जेठ २५ गतेसम्म ७७ जिल्लामा चलाएको ‘हिमाल, पहाड, तराई÷मधेस राष्ट्रिय जागरण अभियान’मा पुगेर फर्किएका प्रतिनिधिहरुले केन्द्रीय तहमा नेताहरु संगठन सुदृढीकरण र कार्यकर्तामा विश्वास दिलाउने भन्दा आफूकेन्द्रित गुट उपगुटकै चिन्तामा ग्रस्त रहँदा जनतामा गलत सन्देश प्रवाह भएको बताए।
पार्टीले आजदेखि सुरु गरेको समिक्षा बैठकमा २९ जना नेताहरुले आफू गएर फर्किएको जिल्लाको अवस्था र त्यहाँ प्राप्त नेता कार्यकर्ताको सुझाव नेतृत्वसमक्ष राखेका थिए।
यसरी सुझाव राख्नेक्रममा झापाको अभियान सञ्चालन गरी फर्किएका केन्द्रीय सदस्य महेश आचार्यले पार्टीलाई पुनर्यौवनिकरण गराउन समयमै अधिवेशन गर्न तथा पार्टीलाई विधान वमोजिम चलाउन सुझाव दिएका थिए।
उनले गुट उपगुटको अन्त्यको सन्देश नेतृत्व तहबाटै दिन पर्ने, केन्द्रदेखि नै पार्टीभित्र अनुशासनको पालनासँगै प्रशिक्षणको जरुरी रहेको बताए।
कतिपय राष्ट्रिय मुद्दामा पार्टीले सदनभित्र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले त्यस्ता विषयमा सभापतिले पार्टीको धारणा स्पष्टसँग राख्न र अरू सदस्यलाई राख्न लगाउन पर्नेमा जोड दिए।
केन्द्र र जिल्ला तहमा समन्वयको अभावबारे चर्चा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापामा चिया बगानका मजदूरहरुले ४४ दिनसम्म आन्दोलन गर्दा यसबारे सदनमा कुरा उठाउन नसकिएको भन्दै आचार्यले असन्तुष्टि व्यक्त गरे।
आज बोल्ने २९ प्रतिनिधिमध्ये सोलुखुम्बु पुगेर फर्किएकी कुमारी लक्ष्मी राई, नुवाकोटका प्रतिनिधि अर्जुनजंगबहादुर सिंह र बाराका प्रतिनिधि आनन्दप्रसाद ढुंगानाले त्यी जिल्लामा नेताहरुबीच पानी बारबारको स्थिति रहेको भन्दै त्यसको समाधान नेतृत्वतहबाटै खोजिनु पर्ने बताए।
सोलुखुम्बुमा दुई गुटका नेता तथा कार्यकर्ताबीच पानी बाराबारकोे स्थिति रहेको भन्दै राइले त्यसको समाधान आफ्नो तहको समन्वयबाट सम्भव नभएको बताएकी थिइन्।
त्यसैगरी केन्द्रीय समितिमा चार/चार जना नेताहरु रहेको नुवाकोट जिल्ला पुगेर फर्किएका अर्जुनजंगबहादुर सिंहले जिल्लाका चार नेताबीचमात्र होइन जिल्ला र क्षेत्रीय समितिबीच पनि समन्वयको अभाव रहेको बताउँदै त्यी चार जना नेता रहेसम्म नुवाकोटमा पार्टीले चुनाव जित्न सक्ने अवस्था नरहेको जानकारी दिए।
त्यसैगरी आनन्दप्रसाद ढुंगानाले बारामा केन्द्रीय सदस्यदेखि जिल्ला तहका नेताबीच समेत आपसी सम्बन्ध राम्रो नहुँदा प्रभावकारी कार्यक्रम सञ्चालन हुन नसकेको जानकारी दिए।
पर्साको स्थिति पनि सुरुमा बाराको भन्दा फरक नभएको जानकारी दिँदै फरमुल्लाह मन्सुरले पछिल्ला दिनमा केही सुध्रिएको बताए।
सभापतिको गृहजिल्ला पुगेर फर्किएका बीरबहादुर बलायरले उक्त जिल्लाबाट प्रदेशका मुख्य मन्त्री समेत रहको व्यक्तिले जिल्लामा जथाभावी ठेक्कापट्टा र अनियमितता गरिरहेको तथा पार्टीका भातृसंस्थाहरुको संरचना ध्वस्त हुँदा संगठनले गति लिन नसकेको बताए।
यसैगरी भोजपुर पुगेर फर्किएका रामहरि खतिवडाले पार्टीभित्रको गुट उपगुटको रोगले संगठन ध्वस्त भएको र त्यसको अन्त्य केन्द्रीय तहबाटै हुन जरुरी भएको बताए।
उनले अझै पनि केन्द्रीय समिति सदस्यहरु बुथबाटै प्रतिनिधि बनेर आउनु पर्ने तथा समावेशी प्रतिनिधित्वको सवालमा एक व्यक्तिले एक पटकका लागि मात्र त्याे काेटाकाे उपयाेग गर्न पाउने व्यवस्था विधानमा गर्न कार्यकर्ताको माग रहेको जानकारी दिएका थिए।
ओखलढुंगा पुगेर फर्किएका यज्ञबहादुर थापाले जिल्लामा रहेको आन्तरिक विवाद र घात अन्तरघातले गत निर्वाचनमा पार्टीका उम्मेदवार पराजित भएको भन्दै एक प्रदेशको नेतालाई अर्को प्रदेशको उम्मेदवार बनाउँदा पनि कार्यकर्तामा असन्तुष्टि देखिएको बताएका थिए।
कांग्रेसले उक्त समिक्षा बैठकमा बोल्न बाँकी प्रतिनिधिको धारणा सुन्न बिहीबार बिहान ९ बजेदेखि नै केन्द्रीय कार्यालयमा बैठक बोलाएको छ।
उक्त समिक्षा बैठकमा आएका धारणाहरु समेटी तयार पारिएको प्रतिवेदन पार्टीको आगामी असार २२ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्ने तयारी रहेको छ।
प्रकाशित मिति: आइतबार, असार ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय