नेपाली कांग्रेसले पहिलो चरणमा सञ्चालन गरेको एक महिना लामो देशव्यापी अभियानको बुधबारदेखि समिक्षा सुरु गरेको छ।
पार्टीले चलाएको ‘हिमाल, पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरणमा ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुले तयार पारेको प्रतिवेदनमाथि पार्टीले आजदेखि केन्द्रीय कार्यालयमा समिक्षा गर्ने कार्य गरेको छ।
वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म जिल्ला जिल्लामा पुगेर जागरण अभियान सञ्चालन गरी फर्किएका प्रत्येक प्रतिनिधिसँग पार्टीले आज र भोली गरी करिब १३ घण्टा लगाएर उनीहरुले प्राप्त गरेको जिल्लागत स्थितिबारे जानकारी लिने छ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार, प्रत्येक जिल्ला प्रतिनिधिलाई बढिमा १० मिनेटका दरले आफू गएर फर्किएको जिल्लोको स्थितिबारे जानकारी दिन समय दिँदा १३ घण्टा समय लाग्ने छ भने त्यसपछि केन्द्रय सभापति, वरिष्ठ नेता लगायतका नेताहरुको समापन भाषणसहित करिब १५ घण्टा २५ मिनेट लगाएर समिक्षा हुने छ।
जिल्ला पुगेर फर्किएका केन्द्रीय प्रतिनिधिहरुसँगको छलफल पार्टी कार्यालय सानेपामा प्रारम्भ गर्दै सभापति शेरबहादुर देउवाले प्रतिकूल परिस्थितिमा पनि सबै जिल्लामा पुगेर पार्टीको अवस्था बुझ्नेदेखि संगठनलाई गतिशिल बनाउने अभियान सफल पारेकोमा सबै प्रतिनिधिलाई धन्यवाद दिए।
देउवाले पहिलो चरणमा प्राप्त राय सुझावको आधारमा दोस्रो र तेस्रो चरणको अभियान अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कांग्रेसले संगठनलाई जनस्तरसम्म चलायमान बनाउन गरेको तीन चरणको अभियान अन्तर्गत दोस्रो चरणको अभियान भदौ २४ देखि असार ७ गते सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको छ।
प्रकाशित मिति: आइतबार, असार ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय