हिमाल दैनिक
संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाएको छ। सरकारको पत्राचार अनुसार समितिले प्रारम्भिक बैठकबाट प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। निर्णय अनुसार बिहीबारदेखि प्रस्तावित राजदूतउपर उजुरी आह्वान हुनेछ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले दश दिनको समय दिएर उजुरी आह्वान गरेको हो। असार १४ गतेसम्म सरोकारवाला तथा सर्वसाधारणले उजुरी दिन सक्ने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। जेठ २३ गतेको मन्त्रिपरिषद् बैठकले राजदूतको नियुक्तिको सिफारिस गरेको थियो। सरकारले अस्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका नयाँ राजदूत सिफारिस गरेको थियो। निर्णय अनुसार अस्ट्रेलियाका लागि महेश दाहाल, कतारमा नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा वंशीधर मिश्रलाई सिफारिस गरेको थियो। उजुरीको समय सकिएपछि समितिले प्रस्तावित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update