हिमाल दैनिक
राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारले संसदमा रोष्ट्रम घेरेपछि मात्रै त्यसको जवाफ दिने संस्कृतिको विकास गरेको आरोप लगाउँदै यदि यहि संस्कार चाहेको भए आफूहरु पनि त्यसका लागि तयार रहेको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले संसद प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले संविधान संशोधनको माग गर्दै आएपनि सरकारले नसुनेको आरोप लगाए। संख्यागत रुपमा जति भएपनि रोष्ट्रम घेर्नबाट नडाएको बताउँदै उनले यो संस्कृति नबसोस् र संसद सूचारु रुपमा चलोस् भन्ने संसदीय मर्यादाको पालना गरिरहेको भन्दै यदि यस्तै अवस्था रहेमा संसद घेर्न र आवश्यक विरोधको शैली अपनाउन तयार रहेको जानकारी दिए। संविधान संशोधनको माग गरिरहेकै बेला मधेसी, आदिवासी जनजातिमाथि सरकारले लोक सेवा आयोगको विज्ञापन ल्याएर अर्को तरबार चलाएको आरोप पनि उनले लगाए। सडकमा जनता र संसदीय समितिले समेत उक्त विज्ञापन खारेज गर भनि दिएको निर्देशन सरकारका मन्त्री र लोकसेवा आयोगले नसुनेको भन्दै उनीहरुको आलोचना गरे। लोक सेवा आयोगको विज्ञापन तथा गुठी विधेयकमा विपक्ष दलको मात्र नभई स्वंस सत्तापक्षकै कतिपय नेता कार्यकर्ताले समेत माइतीघर मण्डलामा विरोध गरेको प्रसंग उल्लेख गर्दै राज्य पनि सत्ताको, सदन पनि सत्ताका र सडक पनि सत्ता पक्षकै हो भने विपक्षी कहाँ जाने भनि प्रश्न गरे। मन्त्रिपरिषदमा बसेर जथाभावी विधेयक पारित गर्ने सडकमा गएर फिर्ताको माग गर्ने दोहोरो चरित्र सत्तापक्षले देखाएको पनि उनले बताए। उनले मधेसी जनताको भावना सम्बोधन नगरी सरकारले फेरि मधेस आन्दोलन भाग चार खोजेको हो भनि धम्कीपूर्ण प्रश्न गर्दै समावेशी, समानुपातिक खोस्न सरकारले चाहेको हो आफूहरु सके सदनभित्रै र नभए सडकमा जाने बताए। संसद, सभामुख, प्रधानमन्त्री कानुन मन्त्रीले भन्दा पनि गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन किन आइरहेको छैन भनि प्रश्न गरे। सरकारले बोलिसकेपछि फेरि पछाडि हट्छ भने जनताले उसलाई कसरी विश्वास गर्ने? भन्दै उनले संसदमा जति पनि विधेयक छन्, त्यी विधेयक लोकतन्त्रको विरोध जाने गरी बनाएर लोकतन्त्र नचल्ने बताए। सरकारले गुठी विधेयकमात्र होइन सबै लोकतन्त्र विरोधी अन्य विधेयकपनि फिर्ता लिएर सरोकारवालाहरुसँग छलफल गरी परिमार्जन गर्न माग उनले गरे।
प्रकाशित मिति: आइतबार, असार १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update