हिमाल दैनिक
नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले सत्तापक्षले विपक्षी दललाई संसदीय मर्यादा उलंघन गरेको आरोपको प्रतिवाद गर्दै कडा जवाफ दिएका छन्। राष्ट्रिय सभाको मंगलबारको बैठकमा सत्तापक्षका नेता दिननाथ शर्माले बोले लगत्तै विपक्षी दलका नेता पाण्डेले भने, ‘हामीले संसदीय अभ्यासमा माइक वा कुर्चि भाँचेका पनि छैनौँ, अर्थमन्त्रीको ब्रिफकेश फोडेका पनि छैनौँ। हामीले यहाँ आफ्नो मर्यादाभित्रै रहेर विरोध गरिरहेका छौँ तर, भोलि परिआए हामी सडकमा जान पनि सक्दछौँ।’ संसदीय मूल्य मान्यताको विषयमा हामीलाई सिकाउनु पर्दैन भन्दै हिँजो संसदलाई बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने थलो भन्नेहरुलाई यो जनप्रतिनिधिको साझा थलो भनेको हो। प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई बोल्न नदिएको प्रसंगमा उनले सदन विपक्षीको भएको बताउँदै उसले बोल्न नपाउने भनि उनले प्रश्न गरे। अहिले केही समययता सदनमा पेश भएका हरेक विधेयकको विषयमा सरोकारवालाहरुले चासो देखाइरहेको बताउँदै जनताले जतिसुकैको बहुमतको सरकार भए पनि संविधान र जनचाहना विपरित बनाउन पाउँदैन भने। उनले सुरक्षा परिषदको विधेयकदेखि मानव अधिकार आयोग सम्बन्धी विधेयकको विषयमा पनि मानव अधिकारकर्मी लगायतका नागरिकहरुले यी विधेयकले राखेका गलत प्रावधानको विरोध भइरहेको छ। सूचना प्रविधि सम्बन्धी विधेयकको विषयमा पनि प्रेस जगतले संविधानले सुनिश्चित गरेको सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रताको हक कुष्ठित गर्न हुँदैन भनि विरोध भइरहेको छ। आज देशमा जुन परिवर्तन गरी संविधान बनाइएको छ यो पहिले सबै सडकमा गएर आन्दोलन गरेका थिए त्यो अहिले कुण्ठित गर्नेगरी आउने विधेयक कुनै पनि हालतमा मान्य नहुने उनले बताए। सडकमा काठमाडौंका जनता राँके जुलुश लिएर आएको कांग्रेसले नभइ आफै त्यसको विरोधमा आएको बताए। हिँजो पनि जो जसले जनताका आवाज सुनेन र जनताको आवाजलाई विदेशी तत्व र अराष्ट्रिय तत्व देखेजस्तै अहिले पनि सत्ताले नदेखोस् भन्दै उनले अहिले सडकमा उत्रिएका जनता हिँजोको आन्दोलनमा बलिदान दिएकै जनता भएको बताए। उनले अहिले पनि समय भएको बताउँदै जनताले उठाएका विषयमा समाधान खोज्न सक्ने बताए। पाण्डेले जुन दिन यो विधेयकको विषयलाई लिएर गुठीयारहरु मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा आएपछि जनतामाथि भएको राज्यको दमनबारे प्रतिनिधि सभामा आवाज उठेको बताए। उनले प्रश्न गर्दै भने, जनताका आवाजहरु कुन सदनमा कसले उठाउने कसले नउठाउने भन्ने कहाँ छ भनि प्रतिवाद गरे। उनले सरकारले गुठी भनेको जग्गा मात्र हो भन्ने गलत बुझाइ नराख्न र संविधानको भावना, नेपाली समाजको धर्म, संस्कृति र परम्परामाथि धावा बोल्ने काम नगरौँ भन्दा राज्यले नमानेको बताए। गुठीमा जन्मिएर त्यहि हुर्किएर त्यहि मर्ने संस्कार र परम्परा बोकेका जनताले यस विधेयकको बारेमा थाहा पाएपछि सडकमा आएको बताए। उनले जग्गा विहिन किसानलाई जग्गा दिने कुरामा कुनै विरोध नभएको बताउँदै तर, भोगाधिकार गरेको नाममा भूमाफियालाई पोस्नेगरी यो विधेयक बनाउन नपाइने भन्दै जनचाहना बमोजिम अहिले पनि विधेयक फिर्ता लिन सुझाव दिए। उनले भने, ‘समयमा सचेत नभए यसको मूल्य ठूलो चुकाउनु पर्ने छ।’ संविधानलाई सहमतिको दस्तावेज भएको बताउँदै अहिले बहुमतको आडमा कानून र नियम बनाएर अघि बढ्ने र विपक्षी र जनताका आवाज दबाउने अहंम सत्तापक्षले गरेको आरोप लगाए। राज्यले के कस्ता कानून बनाउँदै छ भन्ने कुरा जनताले पहिले थाहा नपाउने बताउँदै सहमतिको राजनीतिक संस्कार भंग सत्तापक्षले नै गरेको आरोप लगाए। सहमितको यात्रा जारी राख्ने हो भने उनले पहिले विवादित विधेयकहरु फिर्ता लिएर सरोकारवालासँग वार्ता गरी अघि बढेमात्रै सदन र सडक शान्त हुने बताए।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update