हिमाल दैनिक
राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका नेता दिननाथ शर्माले प्रतिनिधि सभामा गुठी विधेयकबारे कुरा उठाएर राष्ट्रिय सभा र संसदीय मान्यताको उपहास गरेको आरोप लगाए। राष्ट्रिय सभाको मंगलबारको बैठकमा विशेष समय लिएर शर्माले आफ्नो सदनमा विचाराधिन अवस्थामा रहेको विधेयकबारे तल्लो सदनमा आवाज उठाउने र सदन अवरोध गरेर प्रश्न उठाउने कार्य गलत भएको भन्दै यसले सदन बाहिर व्यवस्थाको विरोधमा रहेका पक्षलाई बल पुगेको दाबी गरे। उनले विधेयकमाथि परेको संशोधन प्रस्तावबारे सदनले छलफल गरी सरोकारवालाहरुसँग परामर्श गरी टुंगो लगाउन अगावै संसदीय गरिमा र मर्यादाविपरित गएर जानु गम्भिर त्रुटि भएको आरोप लगाए। उनले प्रतिनिधि सभामा जे जस्ता गतिविधि भएपनि राष्ट्रिय सभामा सत्ता र प्रतिपक्षबीच सहमतिका आधारमा अघि बढ्ने सवालमा सहमति र सहकार्यको माध्यमबाट अघि बढ्ने बताए। उनले इतिहासमा धेरै पटक परिवर्तनहरु संस्थागत हुन नसकेको भन्दै अब पनि त्यहि गल्ति गर्न नहुने बताए। उनले कपाल फुलेका नेताहरुले इतिहासमा भएका बलिदान र परिवर्तनलाई नेताहरुले नै सहि निर्णय नगर्दा समस्या आएको दाबी गरे। गुठी विधेयकको विषयमा उनले सडक र सदनमा भएको विरोधप्रति असहमति जनाउँदै राणाकालिन कानून बोकेर जान सकिँदैन भन्दै त्यसलाई युग र समयानुकूल परिमार्जनको आवश्यकता रहेको बताए। उलने विधेयकमा कुनै कमिकमजोरी भए त्यसलाई विज्ञ र सरोकारवालाहरुसँग परामर्श गरी परिमार्जन गर्न समय हुँदा हुँदै कुनियतले प्रतिनिधि सभामा यो विधेयकको कुरा उठाएर लोकतन्त्रको विरुद्धमा षडयन्त्र गरिएको आरोप लगाए। उनले यो विधेयकको नाममा सरकारको विरोध नभई सिंगो व्यवस्था विरुद्धको षडयन्त्र भएको दाबी गरे। उनले आफ्नो सदनमा रहेको विधेयकमा प्रतिनिधि सभाका सत्ता र प्रतिपक्षले हस्तक्षेप गर्न नपाउने माग गरे। उनले युद्धकालमा आफ्ना कार्यकर्ताले झण्डा गाढेर कब्जा गरेको जग्गा सबै एक एक इन्च फिर्ता गरेको दाबी गरे। आफू शान्ति प्रक्रियाको वार्ताकार रहेको भन्दै आफूले सेनाको व्यवस्थापनदेखि गाडी, जग्गाको पनि व्यवस्थापन गरेको दाबी गरे। उनले माओवादीलाई कसैले वार्तामा ल्याएको नभई उसको आफ्नै धातुका कारण आएको बताए। कुनै पनि एउटा शक्तिले चाहेर मात्रै परिवर्तन सम्भव नभएको कुरा डाइनामिक लिडर गिरिजाबाबुको कारण शान्ति प्रक्रिया र लोकतन्त्रको स्थापना सम्भव भएको दाबी गरे।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update