हिमाल दैनिक
त्रिदेशीय फुटबल लिग मंगलबारदेखि सुरु
three-nation-cup-prematch-conference
नेपालको घरेलु मैदानमा हुन लागिएको त्रिदेशीय फुटबल लिग मंगलबारबाट सुरु हुँदैछ । काठमाडौंको दशरथ रंगशालामा हुने खेलमा नेपाल,बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको छ । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने तीनै देशका प्रशिक्षकहरुले दावी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली घरेलु मैदानमा हुने लिग जितेर नेपाली फुटबल समर्थकहरुलाई खुसी पार्ने आफुहरुको लक्ष्य रहेको बताए । घरेलु मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्ने उनले बताए । मुख्य प्रशिक्षक महर्जनले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका नतिजा समेत त्यहिँ अनुसार आउने दावी गरे । महर्जनले किर्गिस्तान र बंगलादेशबीचको उद्घाटन खेल हेरेर टिमको रणनीति तयार गर्ने बताए । मुख्य प्रशिक्षक महर्जनले टिमको कप्तानी किरण चेम्जोङले गर्ने जानकारी दिए । त्यस्तै बंगलादेशका राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जेमी डे ले आफुहरुले त्रिदेशीय प्रतियोगितालाई विश्वकप छनोटको तयारीको रुपमा हेरेको र भोली हुने पहिलो खेलबाट राम्रो नतिजा आउनेमा आशावादी रहेको बताए । किर्गिस्तानका मुख्य प्रशिक्षक अलेक्सान्दर क्रेस्टिनीनले टिमले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्नेमा आफु विश्वस्त रहेको बताए । दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् । मंगलबार हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानको यू–२३ टिम हुनेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update