हिमाल दैनिक
थ्री नेसन्स कप: बंगलादेशको विजयी सुरुवात
three-nation-cups-afganistan-himal-dainik
थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार किर्गिस्तानको यू–२३ टिमलाई १–० ले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो । बंगलादेशको जितमा आत्मघाती गोल निर्णायक बन्यो । किर्गिस्तानको कुमारवज उलु बैमानले आत्मघाती गोल गरे । खेलको ३० औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे । यससँगै बंगलादेशले पहिलो पटक किर्गिस्तानको उमेर समूहको टिमलाई हराउँन सफल भएको छ । जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक जोडेको छ । र, फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको छ । नेपालले पहिलो खेलमा बिहीबार किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update