=नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले चालेको असंवैधानिक कदम असफल भएसँगै नेपालमा कम्युनिष्टहरुको पतनको दिनगन्ती सुरु भएको दाबी गरेका छन्।
कांग्रेस केन्द्रीय महिला विभागद्वारा बुधबारदेखि रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरिय महिला भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बुधबार बोल्दै नेता खाडले गत निर्वाचनमा वामगठबन्धनको नाममा अत्याधिक बहुमत प्राप्त गर्दै सत्तामा पुगेको कम्युनिष्ट नेतृत्वको अधिनायकवादी क्रियाकलापका कारण पतनको दिशामा गएको बताए।
विगत तीन वर्षसम्म देशमा जनताको मौलिक हक अधिकारमाथि आक्रमण गर्दै देशलाई कम्युनिष्टकरणको दिशामा धकेलेका प्रधानमन्त्री ओलीले गत पुस ५ गते एकाएक प्रतिनिधि सभा विघटनको सिफारिसमार्फत देशको संविधानमाथि नै अतिक्रमणको दुश्प्रयास गरेको आरोप उनले लगाए।
कांग्रेस केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले कम्युनिष्ट सरकारले देशमा सुशासन र संमृद्धीको नारा लगाएपनि व्यवहारमा सबैतिरक कम्युनिष्टकरण र कुशासन मौलाउँदा लोकतन्त्र कमजोर बन्दै गएको बताइन्।
साथै उनले देशमा पछिल्लो समय महिलामाथिको हत्या, हिंसा र दुव्र्यवहार दिनहुँ बढ्दा पनि सरकारले महिला, बालबालिका अत्यन्त असुरक्षित बन्नु परेको बताइन्।
महिला विभागले केही दिनअघि वागमती प्रदेशबाट सुरु गरेको प्रदेश स्तरिय महिला भेला तथा प्रशिक्षण कार्यक्रम दोस्रो चरणमा रुपन्देहीमा आजबाट सुरु भएर बिहिबार समापन हुनेछ।
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय