ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको छ ।
ब्राजिलमा गत २४ घन्टामा ८९ हजार ९९२ भन्दा बढी कोरोना भाइरसका संक्रमित विरामी भेटिएका पनि सो समाचारमा जनाइएको छ । ब्राजिलका गत मंगलबार कोरोना भाइरसको प्रकोपबाट एकै दिनमा तीन हजार २५१ जनाको मृत्यु भएको थियो ।
यसअघि यही मार्चको २८ तारिखका दिन यहाँ कोरोना भाइरसबाट दुई हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो ।
ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीले जानकारी दिएका हुन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।
पछिल्लो पटक यहाँ भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा सङ्क्रमित भेटिन थालेको समाचारमा जनाइएको छ ।
यहाँका अस्पतालमा निकै ठूलो संख्यामा संक्रमित रहेका छन् भने पछिल्ला दिनमा आइसियुमा रहेका नागरिकको संख्या पनि ठूलो भएको बताइएको छ । रासस÷सिन्ह्वा
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्