नेपाली कांग्रेसले बागलुङ जिल्लामा कार्यकर्ताको हत्याको दोषीमाथि कारबाहीको माग गरेको छ । आइतबार फागु पुर्णिमाको अवसरमा बागलुङ जिल्लाको गुल्मी र प्यूठानसंगको सिमाना बल्देधुरीमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाहरुको मृत्यु भएको थियो । मृत्यु हुने निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाई रहेका छन्। मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत थिए ।
कांग्रेसले आज बिहान बिज्ञप्ति जारी गर्दै उक्त घटनामा संग्लग्न दोषी माथि कारबाहीको माग गरेको छ । कांग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले बिज्ञप्तिमा भनेका छन्,'होलि खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।'
उनले भनेका छन्,'दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ । प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ । '
घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेल घटनास्थल जादै गरेको शर्माले बताए।
स्थानीयवासीका अनुसार दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भनाभन हुँदा झडप भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय