नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय रहेको बताएका छन् ।
२० औं जेल ब्रेक दिवसको अवसरमा मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा प्रचण्डले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्तिहरु सक्रिय रहेकाले आवश्यक परे मर्नका लागि तयार रहन कार्यकर्ताहरुसँग अपिल गरे ।
प्रचण्डले संविधान र लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यो षड्यन्त्रबाट प्रधानमन्त्री केपी शर्मा ओली नै परिचालित हुँदा परिस्थिति जटिल बनेको जिकिर गरे । प्रचण्डले प्रधानमन्त्री केपी ओली प्रतिक्रियावादी शक्तिबाटै प्रयोग भइरहेको पनि आरोप लगाए ।
उनले भने ‘१९ पेज लामो प्रतिवेदन लेख्दै गर्दा मैले बम्बार्ड द हेडक्वार्टर लेखेको छु । त्यो भनेको यो बुर्जुवा हेडक्वार्टरलाई समाप्त गर भनेको हुँ । यसो भन्दा प्रतिक्रियावादीहरु तर्सन्छन् र मलाई जेल हाल्छन् भन्ने थियो । मरेरै लाग्ने हो भने यो लडाँई पनि जित्छौें भन्ने लाग्छ । म मर्नका लागि तयार छु, तपाईहरु पनि तयार रहनुस् भन्ने अपिल गर्छु ।’
पार्टी नेतृत्वको वरपर जाली फटाहाहरु हाबी भएको र त्यसमा आफ्नो पनि केही कमजोरी भएको उनले स्वीकार गरे ।
त्यस्तै प्रचण्डले सर्वोच्च अदालतले दल विभाजन गर्ने अप्राकृतिक फैसला गरेका कारण पुनरवलोकनमा गएको बताए । माग एउटा फैसला अकै आएको भन्दै यसलाई देश–दुनियाँले हेरिरहेको उनको भनाई छ ।
उनले संसदीय दलको बैठकको बहुमतबाट ओलीलाई हटाएर संसद्मा निर्णय दर्ता गराएको भन्दै दर्ता गरेर बाहिर नआउँदै सर्वोच्चले आदेश दिएर ओलीलाई नै स्थापित गरिदिएको बताए । त्यस्तै उनले २०५७ सालमा जेलब्रेक गर्ने कमला नहार्की, रीता र सहिद मिना मरहट्टाका पिता नरनात मरहट्टा लगाएतलाई सम्मान गरे ।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय