प्रधानमन्त्री केपी ओलीले समर्थन फिर्ता लिएमा आफू राजीनामा दिन तयार रहेको बताएका छन्। शनिबार बालुवाटारमा एकैपटक १६५ सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाको चर्चा चलाउने गरेको भन्दै आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता भए राजीनामा दिने बताएका हुन् ।
‘समर्थन फिर्ता लिइदेऊ भन्छु, त्यो पनि लिदैन।’ उनले भने, ‘अनि राजीनामा माग्छ । राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्दैन राजीनामा माग्छन् ।’
ओलीले माओवादीतिर लक्षित गर्दै भने,'आजमात्रै हो र राजीनामा मागेको ? माग्या माग्यै छन् त ? माग्यैपिच्छे म कसरी दिनसक्छु ? एक दिन एउटाले माग्या हुन्छ । एउटाले मात्रै माग्या छ र ? एउटाले माग्दैन, दुईटाले माग्दैन । एक दिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ त ? माग्यैपिच्छे म कसरी दिनसक्छु भन्या । ए बाबा हटाउन न त’
प्रधानमन्त्री ओलीले देश र जनताको आवश्यकताका आधारमा ताजा जनादेशमा जान सकिने धारणा पनि राखे । संसद्को अंगकणित राष्ट्रको आवश्यकता अनुसार भएन भने ताजा जनादेशमा जानुको विकल्प नहुने उनको भनाई छ । ओलीले जनप्रतिनिधिको थलो संसद्ले देशको आवश्यकता अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । बिकास निर्माणका बिषयमा संसदीय समितिले दिने निर्देशनले आयोजनाहरुको काम नै रोकिने वा ढिलासुस्ती हुने गरेको उनले आरोप लगाए ।
त्यस्तै प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरे । उनले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका हुन् । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक सय ६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो ।
कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिए । यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उनले जानकारी गराए ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय