
एएफसी कप–२०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले बुधबार श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले साँझ ५ः३० श्रीलंका पुलिस टिमसँग खेल्नेछ ।
घरेलु मैदानमा आर्मी जित निकाल्दै प्ले अफको दोस्रो चरणमा पुग्ने योजनामा रहेको छ । खेल अघि मंगलबार काठमाडौंमा आयोजित प्री म्याच कन्फरेन्समा आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने पाहुना टिमलाई हराएर अर्को चरणमा पुग्ने योजनामा रहेको बताए ।
जितका लागि खेल्ने भन्दै उनले आधुनिक फुटबल पस्केर दर्शकलाई खुसी बनाउने लक्ष्यका साथ मैदान उत्रिने बताए । प्रशिक्षक न्यौपानेले टिममा केहि खेलाडी चोटग्रस्त भएको समेत बताएयो । यस्तै आर्मीका कप्तान भरत खवासले यस खेलमा टिमले महत्वपूर्ण अवसरको रुपमा लिएको उल्लेख गरे ।
त्यस्तै श्रीलंका पुलिसका प्रशिक्षक झिलाउ अल्पेन्सुले छोटो तयारी भएपनि टिम राम्रो रहेको बताए । टिममा राष्ट्रिय टिमका खेलाडी नभएपनि विदेशी खेलाडी राम्रो भएको उनले बताए । श्रीलंका पुलिसका कप्तान चामिक कुमाराले नेपालमा खेल्न पाउँदा खुसी लागेको बताए । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ ।
उक्त खेल अप्रिल १४ मा हुनेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह ’डी’ स्थान बनाउने छन् । समूह ’डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय