प्रतिनिधिसभाको बैठकमा सांसदहरुले कोभिड–१९ का कारण मुलुकको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेसन (एमसिसी) लाई संसद्मा बहसमा ल्याउनपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद खगराज अधिकारीले एमसिसी कहिलेसम्म संसद्मा विचाराधीन अवस्थामा रहने भन्दै तुरुन्त संसद्मा बहसको विषय बनाउन माग गरे ।
सांसद गगनकुमार थापाले कोभिड–१९ का कारण वैदेशिक तथा मुलुकको उद्योग क्षेत्रमा धेरैले रोजगारी गुमाएको भए पनि पुनःस्थापनाका बारेमा सरकारले प्रभावकारी काम गर्न नसेकेको आरोप लगाए । सांसद अञ्जना विशङ्खे राज्य लोककल्याणकारी बनाउन राज्यका निकायलाई स्वायत्त रुपमा काम गर्न दिनुपर्ने बताइन । सांसद घनश्याम खतिवडाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने तर सरकारको राजीनामा माग्ने कुरा उचित नभएको बताए ।
अर्का सांसद अनिलकुमार झाले सामाजिक सुरक्षा भत्तालाई सहज र सुलभ बनाउन समस्याका रुपमा रहेको नवीकरणको व्यवस्थालाई सहजीकरण गनुपर्नेमा जोड दिए । सांसद उमा रेग्मीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता पाँच हजार बनाइदिने आश्वासन दिने सरकारले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न माग गरिन् ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्