गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
बिहिबार प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा संबिधानको धारा १८८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री गुरुङबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। उक्त धारामा प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरू मध्ये एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भनी लिखितरूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने प्रावधान रहेको छ ।
त्यस्तै भावी मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । संबिधानको धारा १८८ को उपधारा ५ मा मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रस्तावित सदस्यको नाम समेत उल्लेख गर्नु पर्ने प्रावधान रहेको छ।
अविश्वासको प्रस्ताव दर्ता गर्न नेता पोख्रेलसहित माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, जसपाका नेता हरिशरण आचार्य, कांग्रेस सांसद कुमार खड्का लगयतकाहरु २८ सांसदको हस्ताक्षर लिएर प्रदेश सभा सचिवालय पुगेका थिए। पोख्रेलले उक्त प्रस्तावमा गुरुङ संघीयता कार्यान्वयनमा चुकेको,कोरोना कहरमा सर्वसाधारणको ज्यान जाँदा समेत उपचारको बन्दोबस्त नगरेको, बेरोजगारी बढेको, आर्थिक अनियमितता बढेका कारण सरकार फेर्नुपरेको उल्लेख गरेका छन्।
गण्डकी प्रदेशमा कुल ६० सदस्य रहेका छन् । अब नयाँ सरकार गठन गर्न ३१ सांसदको समर्थन आवश्यक पर्छ। अहिले प्रतिपक्ष पार्टीहरु मिल्दा कांग्रेसका १४, माओवादीका १२, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका दुई गरि सांसदहरु मिल्दा उनिहरु ३२ सांसद छन् । यससंगै अहिलेको अवस्थामा मुख्यमन्त्री गुरुङ स्पष्ट रुपमा अल्पमतमा परिसकेका छन्।
मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्ताव चल्न बुधबार रातिलाई चालु प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय