
कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालय आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको सिसिएमसी बैठकले भाइरस संक्रमणको रोकथामका लागि शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो ।
कोरोना नियन्त्रण र रोकथामका सम्बन्धी आदेश २०७८ माथि छलफल भएको र आदेशमा वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।
उनले यस बिषयमा स्थानीय तहले नै निर्णय गर्नुपर्नेमा सिसिएमसीको जोड रहेको बताए । मन्त्रिपरिषद् बैठकले सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय बन्दको निर्णय कार्यान्वयन हुनेछ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्नेबारे प्रस्ताव पेश गरेपनि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको थिएन ।
बैठकले कोरोनाको दोस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्यमा जुट्न सम्बद्ध सबै पक्षलाई निर्देशन दिने निर्णय गरेको छ । पहिले सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै जाने, मास्क तथा सेनिटाइजर लगाउने, समुदाय, टोलमा स्थानीय निकायले जनचेतना फैलाउने लगायत काममा जोड दिइएको सचिव बरालले बताए ।
बैठकमा जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे छलफल भएको र आवश्यक निर्णयका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गरिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय