हिमाल दैनिक
संसदबिरुद्ध ठूलो घेराबन्दी भइरहेको सभामुख सापकोटाको आरोप
agni-prasad-sapkota
सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदबिरुद्ध ठूलो घेराबन्दी भइरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको विदाई तथा पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा राष्ट्रिय हितका पक्षमा उभिएदेखि नै यस्तो घेराबन्दी भएको बताएका हुन् । संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरिएको र बिभिन्न अभिव्यक्ति आउने गरेको भन्दै उनले यसलाई कुनै व्यक्ति वा अधिकारीबीचको टक्करको रुपमा लिन नहुने र यो प्रवृत्तिबीचको टक्कर भएको बताए । सापकोटाले अहिलेको टक्कार संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको जिकिर गरे। सभामुख सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने र आफुलाई जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने उल्लेख गरे । उनले देश र जनताको काम गर्न रोक्न जस्तोसुकै दबाब र प्रभाव आए पनि नरोकिने स्पष्ट पारे । उनले कानुन निर्माणमा संसद्को महत्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई प्रभावकारी ढंगले चलाउन प्रयास गर्ने समेत बताए । कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष बिपुल पोखरेलले सञ्चारमैत्री कानूनहरु निर्माणका लागि गम्भीर हुनुपर्ने र बिस्तृत छलफल हुनुपर्ने बताए । त्यस्तै महासंघका निवर्तमान उपाध्यक्ष दिलिप थापा मगरले प्रेस स्वतन्त्रता र पत्रकारहरुको हकहितका लागि निरन्तर आन्दोलन गर्नुपर्ने बताए । कार्यक्रममा पुरानो कार्यसमितिलाई बिदाई तथा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update