परराष्ट्र्रमन्त्री प्रदीप ज्ञवालीले देशको हितको लागि अन्तर्राष्ट्रिय समुदायशीत छलफल, आर्थिक कुटनीति मुख्य प्राथमिकतामा राख्दै परराष्ट्र नीति २०७७ तयार गर्न खोजिएको बताएका छन्।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले परराष्ट्र नीति आन्तरिक नीतिको विस्तारित रुप भएको समेत बताए । बहुपक्षीय सम्बन्ध अगाडि बढाउने, शान्तिलाई अगाडि बढाउने यसका लागि निशस्त्रीकरण गर्ने यसका लागि विश्व समुदायसँग समन्वय गरेर जाने गरी नीति तय गरिएको उनले जानकारी दिए ।
नितिलाई राम्रो बनाउदै लगानी भित्र्याउने पर्यटन बढाउने निर्यात व्यापार प्रवर्द्धन गर्न सक्ने गरी परराष्ट्र नीति तय गरिएको उनले बताए । उनले मुलुकको राष्ट्रिय प्राथमिकता बदलिएको खण्डमा यो नीति परिवर्तन हुनसक्ने तर्क गरे।
त्यस्तै सांसदहरुको जिज्ञासामा मन्त्री ज्ञवालीले म्यानमारका बिषयमा नेपाल सरकार मौन नरहेको भन्दै आवश्यक वक्तव्य जारी गरिएको जानकारी दिए ।
बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता तथा सांसद माधवकुमार नेपालले पर्याप्त छलफल र अध्ययन गरेर मात्र सुरक्षा र परराष्ट्र नीति बनाउनुपर्ने बताए । कतिपय देशमा अरु विषयमा दलहरूबीच मतभेद भए पनि परराष्ट्र र सुरक्षाको विषयमा एक मत हुने भन्दै उनले सबै पार्टीले अपनत्व लिने गरी नीति बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै कांग्रेसकी सांसद पुष्पा भुषालले परराष्ट्र र सुरक्षा नीति कुनै पार्टीको विषय नभई मुलुककै विषय भएको बताईन । परराष्ट्र नीतिका बिषयमा सवैदलहरुको सुझाव आवश्यक रहेको उनले बताईन।
बैठकमा परराष्ट्र नीति २०७७ का विषयमा छलफल भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय