कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु गरिएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । उक्त अवधिमा पहिलो डोज खोप लगाएका व्यक्तिले बैंशाख ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन पाउने छन् ।
पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोप दिइएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ । पहिलो मात्रा करिब १८ लाख जनाले लगाएका थिए । यसैबीच जसपाका शिर्ष नेताहरुले काठमाडौंको बानेश्वरस्थीत सिभिल अस्पतालमा पुगेर कोरोना खोप लगाएका छन् । खोप लगाएपछि जसपा अध्यक्ष महन्थ ठाकुरले कोरोना महामारी बढेका बेला सवैले खोप लगाउनुपर्ने बताए ।
त्यस्तै जसपा नेता राजेन्द्र महत्तोले देशभरका सवै जनताले सहज रुपमा खोप लगाउने वातावरण बनाउनुपर्ने धारणा राखे ।
स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा खोप केन्द्र तोकेको छ । यसअघि पहिलो जुन खोप केन्द्रमा खोप लगाउन भनिएको थियो । तर, काठमाडौं कार्यालयले अघिल्लो सूचना संसोधन गर्दै पायक पर्ने स्थानमा खोप लगाउन सकिने व्यवस्था मिलाएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्