प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपालमा प्रविधिको विकाससंगै कामकाज पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएको छ । सिंहदरबार बुधबार बसेको समितिले नेपालमा प्रविधिको विकास भए पनि कामकाज प्रविधिमैत्री हुन नसकेको भन्दै यसमा बिषेश ध्यान दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सुझाव दिएको हो ।
बैठकमा समिति सभापति कृष्णप्रसाद दाहालले हुलाक सेवालाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए । उनले आइटी इञ्जिनीयर रोजगारीका लागि विदेश जान नपर्ने गरी आगामी नीति तथा कार्यक्रम तय गर्न सरकारलाई सुझाव दिए । बैठकमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई पूरा गर्ने गरी तीव्ररूपमा काम गरिरहेको र आगामी आर्थिक बजेटमा समेत त्यसलाई प्राथमिकता दिएको जानकारी गराए ।
सचिव बस्यालले हुलाकी सेवालाई प्राधिकरणको मोडलमा लैजाने, पत्रकारको प्रेसपासको समस्या र सेक्युरिटी प्रिन्टिङ प्रेसलगायत विषय प्राथमिकताका साथ आगामी बजेटमा समावेश गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।
बैठकमा सांसदहरुले अझै पनि कतिपय दूरदराजका बस्तीमा नेपाल टेलिकमकै सेवा पुग्न नसकेको भन्दै सेवा विस्तार र गुणस्तरीयता ध्यान दिनुपर्ने खाँचो औँल्याए । चालु आवको बजेट कार्यान्वयनको अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गरेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्