हिमाल दैनिक
कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्काशन गर्ने निर्णय
emale-kamiti-baithak
सत्तारुढ नेकपा (एमाले)ले कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहने गरी कारवाही गरेको हो । बैठकले प्रदेशसभासद् प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्काशन गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । कारवाहीमा परेकाहरु प्रदेशसभा सदस्य नरहेको जानकारी प्रदेशसभालाई जानकारी गराइने उनले बताए । बैठकले स्थायी कमिटीमा हेरफेर गरी तत्कालका लागि १९ जनालाई स्थायी कमिटी सदस्य कायम गरेको छ । त्यस्तै प्रतिनिधिसभामा रहेका २७ नेतामाथि सोधिएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन गरेको छ । जसअनुसार भूगोल, बिभाग र जनसंगठनको जिम्मेवारी दिइएको छ । त्यस्तै बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि प्राप्त सुझाव ग्रहण गरी एकीकृतरुप दिइएको उहाले बताउनुभयो । बैठकले समसामयिक विषयमा ११ बुँदे प्रस्ताव पारित गरेको छ । पारित प्रस्तावमा पार्टीमा समानान्तर गतिविधि रोकेर पार्टी एकताको मूल प्रवाहमा फर्कन आग्रह गर्दै जनप्रतिनिधिलाई उम्मेदारी दिने पार्टी र आफूलाई मत दिने जनताको सम्मान गर्न आग्रह गरेको छ । मूल प्रवाहमा फर्कने नेता –कार्यकर्तालाई सम्मानका साथ उचित जिम्मेवारी दिइने प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकले कोभिड १९ को रोकथाममा जुट्न सबैमा तथा उपनिर्वाचनको तयारीका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरेको छ । यस्तै सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिलाई स्वागत गर्दै शान्ति र विकासतर्फको यात्रा आरम्भका लागि नेपाल सरकारलाई धन्यवाद दिइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय चूनावका लागि तयार रहन निर्देशन दिएका छन् । त्यस्तै उनले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन्।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update