नेपालले घरेलु भूमिमा आयोजना भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेदरल्यान्ड्समाथि १ सय ४२ रनको कीर्तिमानी जित निकाल्दै नेपालले सिरिज जितेको हो ।
नेदरल्यान्ड्सविरुद्धको यो जित नेपालको सर्वाधिक रनको जित हो । यसअघि नेपालले भुटानविरुद्ध १ सय ४१ रनको जित निकालेको थियो । यससँगै नेपालले पहिलो पटक टी–ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ । यस्तै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । नेपालले यस अघि सन् २०१० मा आईसीसी डिभिजन–५ को उपाधि जितेको थियो । नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर २ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि सेबास्टियन ब्राटले अविजित रहदै सर्वाधिक २६ रन बनाए । म्याक्स ओ डाउडले २० रन जोड्दा कप्तान पिटर सेलारले १३ रन बनाए ।
नेपालका लागि करण केसीले तीन विकेट लिए । उनले तीन ओभरमा ११ रन खर्चदै तीन विकेट लिएका थिए । कमल सिंह ऐरी र सन्दीप लामिछाने समान दुई–दुई तथा अभिनास बोहराले एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको यो कीर्तिमानी लक्ष्य हो । नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट लिए । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको सिरिजमा नेपाल समूहको शीर्ष स्थानमा रहदै फाइनल पुगेको थियो भने नेदरल्यान्ड्सले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको थियो । त्यस्तै मलेसिया भने जित लिग चरणबाटै बाहिरिएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्