हिमाल दैनिक
खनाल–नेपाल पक्षका सांसदहरुलाई तत्काल कारवाही नगर्ने
emale
नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल पक्षका सांसदहरुलाई तत्काल कारवाही नगर्ने भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले खनाल–नेपाल पक्षका सांसदहरुलाई तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । बैठकमा नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्ष निकालिए पनि उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने बताए। यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको प्रवक्त ज्ञवालीको भनाइ छ । बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको अवस्था र सरकारको योजनाका बारेमा जानकारी गराएका थिए । प्रवक्ता ज्ञवालीले सरकारले तत्काल देशब्यापी लकडाउन नगर्ने जानकारी दिए । व्यापक संक्रमण देखिएका ठाउँमा भने क्षेत्रगत रुपमा लकडाउन गर्न सकिने उनको भनाइ छ । अहिले सरकारको आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने रहेको मन्त्री ज्ञवालीले बताए । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको भन्दै मन्त्री ज्ञवालीले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको उल्लेख गरे । बैठकले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको प्रवक्ता ज्ञवालीले बताए । एमालेले क्वारेन्टिन बनाउन, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update