हिमाल दैनिक
काठमाडौँ उपत्यकामा बिहिबारबाट हुने निषेधाज्ञाको अवधि बढाईएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौँ उपत्यका लगायतका मुख्य शहरहरुमा बिहिबारबाट हुने निषेधाज्ञाको अवधि १५ दिन बढाएको हो । यसअघि काठमाडौँ उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो। हिजो साँझको मन्त्रिपरिषद बैठकले काठमाडौं, तराई भागमा ५ सयभन्दा बढी, पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित देखिएकोमा स्थानीय प्रशासनले नै निषेधाज्ञा जारी गर्न सक्ने बताएको छ । यस्तो अवस्था सिर्जना भएमा स्थानीय प्रशासनले कम्तिमा पनि १५ दिन निषेधाज्ञा जारी गर्न सक्नेछ। यस अघि प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेश अनुसार वैशाख १६ देखि एक हप्तासम्मका लागि निषेधाज्ञाजारी गरिएको थियो। सो अवधिमा खाद्य सामग्री औषधी तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् । काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update