
काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो ।
आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन । निषेधाज्ञा पालना गराउन काठमाडौंको चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।
आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।
विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी उपत्यकामा लागू गरिएको आदेश यही २२ गते राति १२ बजेसम्म जारी रहने छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय