प्रधानमन्त्री केपी शर्मा ओलीले बहुसुविधा सम्पन्न मोबाइल प्रणाली नागरिक एपको आइतबारबाट औपचारिक शुभारम्भ गरेका छन् ।
आइतबार प्रधानमन्त्रीले चौथो सूचना प्रविधि दिवसका अवसर भर्चुअल माध्यमबाट प्रधानमन्त्री निवास बालुवाटारबाटै यसको शुभारम्भ गरेका हुन् । यो एपको उद्घाटन भएको यो पहिलो पटक भने होइन। यस अघि नागरिक एपको उद्घाटन ञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले गरिसकेका थिए।
सम्भव भएका सबै सरकारी सेवालाई एउटै एप्सबाट दिलाउने उद्देश्यको यो एप गत माघ २ गते देखि बेटा भर्सनको रुपमा सुरु भएको थियो । बेटा भर्सनमै यो एप पाँच लाख २५ हजार भन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भइसकेका छन् । यसै अवधिमा तीन हजार जनाले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट र १० हजार जना भन्दा बढीले प्यान नम्बर लिसकेका छन् । भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाह देखि सामाजिक अन्तक्र्रिया समेतमा आधारभूत परिवर्तन आएको बताए ।
आगामी दिनमा अन्य सरकारी सेवा समेत एपमा थपिने बताउँदै उनले यसबाट सार्वजनिक सेवालाई भ्रष्टाचार मुक्त र जवाफ देही बनाउन समेत मद्दत गर्ने पनि प्रधानमन्त्रीले बताए ।
नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा एपमा छ । सूचना प्रविधि दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उदारणीय काम गरेका सुधिर पराजुली, कुसुम लामा, हुआवे नेपाल र महालेखा नियन्त्रकको कार्यालयलाई यसवर्षको सूचना प्रविधि पुरस्कार दिइएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय