बाँकेमा तीव्र गतिमा देखिएको कोरोना भाइरस सङ्क्रमण जितेर घर फर्किनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ । पछिल्लो एक हप्तामा मात्रै सङ्क्रमित भई विभिन्न कोभिड आइसोलेशन र होम आइसोलेशनमा स्वास्थ्य लाभ गरेका एक हजार ३३५ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार यो अवधिमा १४ महिने बालकसहित १११ वर्षीय वृद्धले समेत कोरोना जित्न सफल भएका छन् । गत शनिबार १११ वर्षीय वृद्ध र आइतबार १४ महिले बालकले कोरोना जितेर घर फर्केका हुन् । कोरोना जित्नेहरु अधिकांश होम आइसोलेशनमा बसेका हुन् ।
बाँकेमा यही वैशाख १९ गते ३०५, १८ गते २५०, १७ गते २०५, १६ गते २४४, १५ गते ८८, १४ गते १०६, १३ गते १२५, १२ गते १२ सङ्क्रमित कोरोना जितेर घर फर्किएकोे जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।
जिल्लामा कोरोना जित्नेको तुलनामा सङ्क्रमण दर बढी देखिन्छ । पछिल्लो हप्तामा एक हजार ३३५ निको हुँदा तीन हजार ५२० सङ्क्रमित थपिएका छन् । वैशाख १९ गते ४६५, १८ गते २५३, १७ गते ६२८, १६ गते ४९६, १५ गते ५५३, १४ गते ५२६, १३ गते २५६ र १२ गते ३४३ जना सङ्क्रमित थप भएका छन् ।
सङ्क्रमित अधिकांश लक्षण नदेखिएका रहेकाले जति ठूलो सङ्ख्यामा सङ्क्रमित भए पनि दश दिनपछि त्यति नै सङ्ख्यामा डिस्चार्ज हुने देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबहादुर चन्दले बताए ।
यसैबीच बाँकेमा अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३०, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे मृत्यु भएको हो ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको गए राति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे मृत्यु भएको थियो । योसँगै बाँकेका १३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १२२ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय