
पाल्पामा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको निधन भएको छ । रामपुर नगरपालिका–१० गेझा बस्ने ७२ वर्षीय एक पुरुषको आज बिहान करीब साढे २ः०० बजे निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
उच्च रक्तचाप रोगले ग्रसित रहेका ती पुरुषलाई यही वैशाख ३ गते उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा लगिएको थियो । वैशाख ८ गते एन्टिजिन रिपोर्ट पोजेटिभ आएपछि उपचाररत ती पुरुषलाई १३ गते मिसन अस्पतालबाट डिस्चार्ज भई घर फर्केको र होम आइसोलेशनमा निधन भएको रामपुर–१० का वडाध्यक्ष लिलबहादुर गाहाले जानकारी दिए ।
मृतकको अहिले घर नजीकैको कालीगण्डकीको दोभान झम्मखोलास्थित आँधिघाटमा परिवार, आफन्त र स्थानीयवासीको सहयोगमा शव व्यवस्थापन गर्ने तयारी भइरहेको वडाध्यक्ष गाहाले बताए । हालसम्म पाल्पामा कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या ४२ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय