हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् । कोभिड–१९ र समसामयिक विषयमा सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन आग्रह गरे । उनले छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न पनि आग्रह गरे । सबैजसो अस्पताललाई पिसिआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको जनाउँदै उनले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताए । उनले शय्या लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिएका कारवाही गरिने स्पष्ट गर्दै अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको जनाए । प्रधानमन्त्री ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताए । उनले कोभिड–१९ नियन्त्रणमा खटिने फ्रन्टलाइनर कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता प्रदान गरिने जानकारी दिए । प्रधानमन्त्री ओलीले स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ प्रदेश र स्थानीय तहमा अवकाश प्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी एक वर्षका लागि करारमा भर्ना गरिनेसमेत बताए । प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने जानकारी दिए । यस्तै प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिनुभएको पनि सम्बोधनमा उल्लेख गरेका छन् ।  
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update