हिमाल दैनिक
नेकपा एमालेले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी बिभिन्न दलसंगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी विभिन्न पक्षसँग छलफल चलिरहेकाले सघनरुपमा सबै दलहरुसँगको छलफललाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएको छ । त्यस्तै स्थायी कमिटीको आकस्मिक बैठकमा बागमती प्रदेशको एक सिटका लागि जेठ ६ गते हुने उपचुनावमा एमालेको उम्मेद्वार जिताउने विषयमा छलफल भएको प्रवक्ता ज्ञवालीले बताए । बैठकमा नेताहरुले उपचुनावको विषयमा सुझाव दिएको र एमालेको उम्मेद्वारको जीत सुनिश्चित हुने गरी छलफल अगाडि बढाउने निर्णय गरेको उनले बताए । उम्मेद्वारको विषयमा पछि छलफल गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए । राष्ट्रियसभा उपचूनावमा एमालेका माधव–झलनाथ समूहले कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर राष्ट्रियसभाको रिक्त पदका लागि डा. खिमलाल देवकोटालाई अघि सार्ने सहमति भइसकेको छ । यस्तै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेदवार बनाउने तयारी गरेका छन् । अहिले प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update