हिमाल दैनिक
नेकपा एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर थापाले मनोनयन दर्ता गराएका हुन् । यसअघि शुक्रबार बिहान बसेको एमाले स्थायी कमिटी बैठकले थापालाई राष्ट्रिय सभा सदस्य पदको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेपछि गृहमन्त्री थापा मनोनयन दर्ता गराउन हेटौडा पुगेका थिए । वाग्मती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक तथा समाजिक विकास मन्त्री सरस्वती बस्नेत थापाको समर्थक छन् । यस्तै कांग्रेस–माओवादी साझा उम्मेदवारका रुपमा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेका छन् । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । राष्ट्रियसभामा वाग्मती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरेपछि सो स्थान खाली भएको थियो । सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update