ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले दुई गोल गरे । विमल राना र नुर्लान जाहिदको नाममा एक गोल रह्यो । निकै तनाव ग्रस्त बनेको खेलमा दुबै टोलिले सुरुवातबाटै आक्रमक खेल पस्किएको थियो ।
खेलको ३६ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा सब्सिच्युट खेलाडी विमलले गोल गर्दै ललितपुरको अग्रता दोब्बर गरे ।
ललितपुरले दोस्रो गोल गरेपछि खेल तनाव ग्रस्त बन्यो । रेफ्रीको निर्णयमा असन्तुष्ट प्रकट गर्दै विराटनगरका अफिसियलले निर्देशन दिएपछि खेलाडीहरु मैदानबाट बाहिरिएका थिए । तर, केहि समयपछि खेलाडी मैदान फर्किएका थिए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा कप्तान अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–० को अग्रता दिलाए ।
खेलको ८५ औं मिनेटमा विराटनगर १० खेलाडीमा समेटियो । रन्जित धिमालको स्थानमा मैदान छिरेका विजय धिमाल दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । त्यसपछि खेलको इन्जुरी समयको छैटौं मिनेटमा नुर्लानले गोल गर्दै ललितपुरलाई ४–० को जित दिलाए । जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेको छ । ललितपुर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । विराटनगरले ६ खेलमा ७ अंक जोड्यो । विराटनगर पाँचौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्