हिमाल दैनिक
राष्ट्रपतिलाई सरकार गठनको प्रक्रिया सुरु गर्न देउवा, दाहाल र यादवको आह्वान
183967022_1617747365075750_1717953386196926206_n
राष्ट्रपति बिद्या देवी भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गर्नु पूर्व नै प्रमुख तीन दलले संयुक्त सरकार गठन प्रक्रिया प्रारम्भ गर्न आह्वान गरेका छन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले सरकार गठन गर्नका लागि आह्वान गर्नु पूर्व नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जस्पाको उपेन्द्र यादव समुहले संयुक्त सरकार गठनको पहलका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीले सोमबार बिश्वासको मत गुमाएपछि उनको बिरुद्धमा उभिएका कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरेका छन् । आज भएको मतदानमा ओलीले आफ्नै दलका सांसदहरुको बिश्वास गुमाएर ९३ मतमा सिमित हुनु परेको थियो भने बिपक्षमा १२४ मत खसेको थियो । बिश्वासको मत गुमाए पनि ओलीले अझै प्रधानमन्त्री पदबाट राजिनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गरेका छैनन्। बहुमत गुमाएसँगै वर्तमान सरकार कामचलाउमा परिणत भएको छ । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशनमा संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका थिए । संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान रहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update