हिमाल दैनिक
‘१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ’
Association of private health institution Nepal APHIN
निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् । निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले आज विज्ञप्ति जारी गर्दै देशभरि नै निषेधाज्ञा र अन्तरराष्ट्रिय हवाई सेवा बन्द भई द्रुत ढुवानीको अरू कुनै विकल्प नभएकाए १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सय शय्याभन्दा माथिका सामुदायिक र निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो । “सय शय्याको अस्पतालका लागि सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि रु दुई करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ती

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०७८÷०१÷२९ गते कम्तीमा एक सय बेड सञ्चालन गरेका निजी अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न भनेर दिएको निर्देशनप्रति एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड–१९ महामारीका कारण देशभरि नै अक्सिजनको अभाव भएको बारेमा हामी सबै अवगत छौँ। र, यो असहज अवस्थाप्रति गम्भीर पनि छौँ। सीमित साधन–स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीहरूको उपचारसेवामा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको साटो यस्तो गैर जिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी संचालन भैरहेछ भन्ने स्पष्ट हुन्छ । १. स्मरण रहोस्, हाल लगभग देशभरि नै निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाईसेवा पनि बन्द रहेका छन् । द्रूत ढुवानीको अरू कुनै विकल्प छैन । २. अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन । विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन । प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ । ३. १०० शय्याको अस्पतालका लागि नेपाल सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि २ करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्। यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय हो भन्ने हामीले ठानेका छौँ। देशैभरी अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदमहरु चालिनुपर्ने र उक्त प्रयासमा सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरु तयार रहेको पनि हामी जानकारी गराउन चाहान्छौं । कोभिडका कारण देशले भोग्नुपरेका समस्या समाधानका लागि आफ्नो तहबाट सम्पूर्ण सामर्थ्यका साथ योगदान गर्न निजी अस्पतालहरू अहोरात्र खटिरहेको र आगामी दिनमा पनि यस महामारीसँग जुध्न सकारले चालेका कदमहरूलाई साथ दिन हामी हरदम तयार रहेको जानकारी पनि गराउन चाहन्छौँ। एसोसियसन अफ प्राइभेट हेल्थ इंस्टिच्युसन अफ नेपाल (अफिन) २०७८ वैशाख २९ गते बुधबार
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update