हिमाल दैनिक
नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । पार्टीबाट निष्कासित हुनेमा खनाल र नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु रहेका छन् । शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै खनाल–नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, कसैले पनि स्पष्टीकरणको जवाफ नबुझाएपछि एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update