हिमाल दैनिक
दुई–दुई पटक प्रतिनिधिसभा बिघटन हुनु दुर्भाग्य
sabhamukh-chalfal
पूर्वसभामुखहरुले प्रतिनिधिसभा बिघटन जनताप्रति उत्तरदायी कदम नभएको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भएको र यो पूर्णत असंवैधानिकका साथै जनताप्रति उत्तरदायी कदम नभएको बताएका हुन् । पूर्व सभामुखहरूले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दालाई प्राथमिकताका साथ छिटो टुंगोमा पु-याउनुपर्ने समेत धारणा राखेका छन् । बैठकपछि कांग्रेसका बरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले अहिले मुलुक कोरोना महामारी र राजनीतिक रुपमा संकटमा रहेका बेला प्रतिनिधिसभा बिघटन हुनु दुर्भाग्य भएको बताए । उनले सवै विवादको समाधान संसदबाटै खोज्नुपर्ने बेला आदालत जानुपरेको जिकिर गरे । पौडेलले सदनबाटै राजनीतिक निकास आउनुपर्ने र जनताको अस्तीत्व सदनमाथि कसैले खेलवाड गर्न नहुने निष्कर्ष निकालिएको जानकारी दिए । अहिलको अवस्था चूनाव गर्नुभनेको जनतामाथि बिपती बर्साउने बिषय भएको तर्क गरे । उनले अहिले सदन नरहेको अवस्थामा अध्यादेशबाट जेष्ठ १५ गते नै बजेट ल्याउनुपर्छ भन्ने अवस्था नरहेको जिकिर गरे । त्यस्तै पूर्व सभामुख ओनसरी घर्तीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको जानकारी दिईन । उनले अहिलेको विषम परिस्थितिमा संकटको निकास र सभामुखको भूमिका के हुनसक्छ भनेर छलफल भएको बताईन । घर्तीले प्रतिनिधिसभा विघटन असंवैधानिक र जनमतलाई अपमान गर्ने किसिमले भएको जिकिर गरिन् । छलफलका क्रममा सभामुख सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार हुने बताएका थिए । सभामुख सापकोटाले आयोजना गरेको छलफलमा ४ जना पूर्व सभामुख सहभागी भएका थिए भने पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने बैठकमा सहभागी भएनन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update