हिमाल दैनिक
कोरोना महामारी नियन्त्रण र रोकथामका लागि उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायको संयुक्त बैठकले कडा प्रावधानसहित जेष्ठ २० गतेसम्मका निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । एक साताको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर बन्द गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । त्यस्तै सर्वसाधारणको आवतजावतलाई पनि पूर्ण रुपमा बन्देज गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । त्यस्तै कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाई गरिएको छ भने सवै प्रकारका सार्वजनिक र नीजि निर्माण कार्यलाई स्थगन गर्ने तथा निर्माण सामाग्री बोकेका सवारी साधानलाई पनि सञ्चालनमा रोक लगाइने पराजुलीले बताए । प्रशासनले लगाएको निषेधाज्ञा उलंघन गरेको पाइने कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको पराजुलीले जानकारी दिए । त्यस्तै बैठकले यसअघि जारी गरिएका सवै प्रकारका पास समेत खारेज गरेको छ । दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update