हिमाल दैनिक
कोरोनाका कारण उभौली पर्वमा पूजाको विधिमात्र पुरा
ubhauli-parva
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाएका छन् । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरि उभौली पर्व मनाउने परम्परा छ । किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । यस वर्ष एक महिना अघिदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधिमात्र पूरा गरिएको छ । उभौली पर्वका अवसरमा बुधबार ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गरिएको किराँत राई यायोक्खा केन्द्रीय समितिका अध्यक्ष दिवस राईले जानकारी दिए । अरु बर्षहरुमा हजौरोको संख्यामाा भेला भइ भव्य रुपमा साकेला नाँच नाचेर पर्व मनाउने भएपछि कोरोना कारण सिमित व्यक्तिमात्र सहभागी भएर बिधि मात्र पुरा गरिएको उनले बताए । किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update