हिमाल दैनिक
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा सहकर्मीमाथि हातपात र कुटपिटको बिषयमा राष्ट्रपति बिद्या देवी भण्डारीले आफ्नो धारणा राखेकी छिन् । राष्ट्रपति भण्डारीले सामाजिक संजाल मार्फत भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक रहेको बताएकी छिन्। यसका साथै उनले आक्रमण गरेकाहरु दु:खमा परेकाले भावनात्मक उत्तेजनामा बगेको हुन सक्ने समेत बताएकी छिन् । उनले ट्वीटर मार्फत भनेकी छिन्,'आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।' दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको भेरी अस्पतालमा उपचारत थिए । चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतकाले डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेको डा साहुले बताए । ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको अस्पतालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिईन  । स्वास्थ्यकर्मीले शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । आक्रमणबाट ज्यान जोगाउन डा चन्द्रप्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर भागेका थिए । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पनि हुन्। त्यस्तै उनि मुख्यमन्त्री शंखर पोख्रेल र एमालेकी सचेतक शान्ता चौधरी निकट मानिनछन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update