हिमाल दैनिक
सबै नागरिकलाई कोभिड–१९ को निःशुल्क खोप
budget-bhasan
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको जानकारी दिए । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन् । उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । यस्तै, स्वास्थ्य बिमालाई आगामी आर्थिक वर्षसम्म सबै स्थानीय तहमा पु¥याउँदै ५० प्रतिशत नागरिकमा बिमाको पहुँच पु¥याउने लक्ष्य लिइएको छ । स्वास्थ्य बिमाको लागि सरकारले ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको मन्त्री पौडेलले बताए । अक्सिजनको अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिएको उनले जानकारी दिए । सामुदायिक तथा निजी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान समेत दिने पनि उनले बताए । महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरिएको अर्थमन्त्राले बताए । त्यस्तै औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने अर्थमन्त्रीले बताए ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update