हिमाल दैनिक
प्रदेश २ को सरकारमा सामेल हुन यादवको आग्रह, निधिले भने: मुख्यमन्त्री चाहिन्छ
upendra-yadav-bimalendra-nidhi
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटेका छन् । शुक्रबार जसपाका अध्यक्ष यादव कांग्रेस उपसभापति निधिको निवासमा गई भेटबार्ता गरेका हुन् । उनले निधिलाई प्रदेश २ को सरकारमा कांग्रेस पनि सहभागी हुन प्रस्ताव अघि सारेका छन् । जवाफमा निधिले प्रदेश नम्बर २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउनुपर्नेमा जोड दिए । निधिले प्रदेश २ को नामाकरण लगायतका बिषयको टुंगो कांग्रेसको नेतृत्वमा अघि बढ्नुपर्ने बताएका थिए। पछिल्लो समय जसपाका देखिएको विभाजनको प्रभाव प्रदेश २ को सरकारमा देखिएको छ । प्रदेश २ का मुख्यमन्त्री लाल बाबु राउत यादव निकटका नेता हुन् । जसपामा महन्त ठाकुर-राजेन्द्र महतो पक्ष ओलीको पक्षमा र यादव पक्ष बिपक्षी गठबन्धनमा सहभागी भएका छन् । जसका कारण अब ठाकुर महतो पक्षले प्रदेश २ को सरकारबाट आफ्नो समर्थन फिर्ता लिने सम्भावना बढेर गएको छ । प्रदेश सभामा अहिले कुल एक सय ४ जना सदस्य छन्। जसमा तत्कालीन संघीय समाजवादी फोरमबाट ३० जना र राजपाबाट २५ जनाले सदस्य रहेका थिए । त्यस्तै नेपाली कांग्रेसका १९, एमालेका २१, माओवादी केन्द्रका ८, संघीय समाजवादी पार्टीका एकजना सदस्य रहेका छन्। यहाँ सरकार बनाउने कुल ५३ जना चाहिन्छ। मुख्यमन्त्री राउतकै सरकारलाई निरन्तरता वा नयाँ सरकार गठन गर्नका लागि लागि तीन दल मिल्नुपर्ने छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update