हिमाल दैनिक
पछिल्लो समय जसपामा चुलिदो विवादको असर अब प्रदेश २ को सरकारमा पनि देखिएको छ । महन्त ठाकुर–महतो समूह ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा राजीनितिक हलचल बढेको छ । ठाकुर–महतो समूहले ८ मन्त्री र दुई राज्यमन्त्री लिएपछि जसपाका अर्का अधयक्ष उपेन्द्र यादव प्रदेश दुईको सरकारमा केन्द्रित छन् । अहिले, प्रदेश २ को सरकारबाट  एक मन्त्री र तीन राज्यमन्त्रीगरि चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतबार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन् । प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन् । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री राउतलाई भौतिक पूर्वाधार मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना , ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानून, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी , नवलकिशोर साहलाई सामाजिक र रामनरेश यादवलाई उद्योग मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष यादव आफु नै सक्रिय भई प्रदेश २ को सरकारबाट ठाकुर–महतो समूहका मन्त्रीलाई हटाई माओवादी र कांग्रेससंग मिलेर गठबन्धनको सरकार बनाउनमा लागेका छन् । यसका लागि उनले शनिबार कांग्रेसका उपसभापति बिमलेन्द्र निधिलाई उनकै निवासमा गएर भेटेका थिए । छलफलमा उपसभापति निधि जसपाको नेतृत्वमा अहिलेसम्म सरकार चलेकोले अब प्रदेश दुईको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए । त्यसपछि यादव सोहि दिन जनकपुर पुगेका हुन् । आइतबार यादवकै सक्रियतामा संसदीय दलको बैठकबाट मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता चयन गरिएको थिए । प्रदेश २ मा अहिले १०४ सांसद रहेका छन् जसमा जसपाका ५५ सांसद, कांग्रेसका १९ र माओवादीका ८ सांसद रहेका छन् । राउतको पक्षमा पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका ६ गरि ३६ सांसदको साथ रहेको छ । जसपाले कांग्रेस र माओवादीसंग गठबन्धन बनाउने हो भने ६३ सिट पुग्नेछ । तत्कालिन संघीय समाजवादी पार्टीको २९ सिट र राजपाको २५ सिट रहेको थियो । स्वतन्त्र निर्वाचित शेख अबुल कलाम आजाद जसपामा प्रवेश गरेपछि सो संख्या ५५ पुगेको हो ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update