लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको नीति कार्यक्रम पारित भएको छ । नीति कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई बजेट ल्याउन सहज भएको छ ।
प्रदेशसभाको आइतबारको बैठकमा नीति कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुख पुर्णबहादुर घर्तीले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका हुन् ।
नीति कार्यक्रम पारित गरियोस् भन्ने मुख्यमन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुअघि नीति कार्यक्रम कसरी पास हुन्छ भन्ने जिज्ञासा राखेका माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीलाई सभामुखले संख्याका आधारमा हुने बताएका थिए । त्यसपछि उनले ध्वनिमतका आधारमा पक्ष र विपक्षमा मत व्यक्त गर्न आह्वान गरेका थिए । नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्तावका पक्षमा बहुमत रहेकाले नीति कार्यक्रम पारित भएको सभामुखले बताए ।
त्यसअघि नीति कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले आफुले सदनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र सदनका कामकारबाहीलाई निरन्तरता दिनका लागि विपक्षी दलका नेताहरुलाई पटक पटक भेटेर छलफल गरेको बताए । उनले प्रदेशसभामा सरकारलाई कानुनी रुपमा वैधताको कुनै अड्चन नभएको पनि बताए । पोखरेलले एमाले र जसपाका केही सांसदको विषयमा अदालतबाट टुंगो लागेपछि सबै दलको कानुनी अड्चन हट्ने र यसले निर्णय लिने उल्लेख गरे ।
कोभिड–१९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको थियो । प्रदेशसभाको अर्को बैठक असार १ गते बोलाइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्