हिमाल दैनिक
कोरोना नियन्त्रण र रोकथाका लागि काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थपिएको छ । आइतबार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो । उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । थप गरिएको निषेधाज्ञालाई केहि खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने निर्णय भएको छ । त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ । त्यस्तै अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले जानकारी दिए । त्यस्तै विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्न भनिएको उनले बताए । कोरोना संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रण लागि भन्दै स्थानीय प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update