हिमाल दैनिक
फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड यूरोकपको अन्तिम आठमा
switzerland-eurocup
स्विट्जरल्यान्ड यूरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा स्विट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाईहराउदै अन्तिम आठमा आफ्नो स्थान सुनिश्चित गरेको हो । खेलको निर्धारित समय र अतिरिक्त समयमा ३-३ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटमा गएको थियो । जहाँ स्विट्जरल्याण्डले ५-४ को गोल अन्तरले पराजित गरेको थियो। पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले र स्टार केलियन एम्बाप्पेले पेनाल्टी हानेका थिए जसमा एम्बाप्पेले गोल गर्न सकेनन् । उता, स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे । खेलको १५ औं मिनेटमा स्विट्जरल्यान्डका हरिस सेफेरोभिचले गोल गर्दै खेलमा अग्रता लिए। पहिलो हाफमा लिएको अग्रता स्विट्जरल्याण्डले भने कायम गर्न सकेनन् । खेलको ५५ औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टी अवसर पाएपनि रिकार्डो रोड्रिगेजले त्यसलाई सदुपयोग भने गर्न सकेनन्। खेलको ५७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै खेल बराबरीमा पुराए । खेलको ५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा टिमलाई अग्रता दिलाए। खेलको ७५ औं मिनेटमा पाउल पोग्बाले थप एक गोल गरे र खेलमा ३–१ अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा स्विट्जरल्यान्डका सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्किए। खेलको ९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि खेलेको अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । अब स्विट्जरल्यान्डले स्पेनलाई सामना गर्ने छ।  
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update