हिमाल दैनिक
भोलिदेखि मनसुन थप सक्रिय हुँदै, केही स्थानमा आज भारी वर्षाको सम्भावना
weather-today
भोलिदेखि मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्नेछ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय हुने बिभागले जनाएको हो । आज बिहान जारी भएको बुलेटिनअनुसार आज रातिदेखि देशभर सामान्य देखि पूर्ण बदली रहने बताइएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन भिभागले आग्रह गरेका छन् । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए । उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ । यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update