हिमाल दैनिक
मनसुन सुरू भए यता प्राकृतिक बिपतबाट ३९ जनाको मृत्यु
bishnu-poudel
सरकारले यस वर्ष मनसुन सुरू भए यता प्राकृतिक बिपतबाट ३९ जनाको मृत्यु भएको जनाएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिदैं गृहमन्त्री बिष्णु पौडेलले देशका विभिन्न जिल्लाहरूमा मनसुनजन्य विपद्का २२६ घटना भएको र बिभिन्न २२ जिल्लामा ३९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । त्यस्तै ३१ जना बेपत्ता र ४६ जना घाइते भएको उनले बताए । मनसुनजन्य विपद्‍बाट घरवार बिहीन भएकाहरूको निजी आवासको पुनर्निर्माणका लागि घर पुनर्निर्माण गर्न अनुदान उपलब्ध गराउने उनले बताए । मन्त्री पौडेलले मनसुनजन्य विपद्‍बाट विभिन्न जिल्लामा आंशिक तथा पूर्ण क्षति भएका ५७२ घरपरिवारलाई तत्काल अस्थायी बसोबासको व्यवस्थाका लागि प्रति परिवार रु. ५० हजारको दरले रू. २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारहरूलाई उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको बताए । उनले राहत र पुनस्र्थानामा तथा मानविय प्रश्नमा सरकारले राजनीति नगरेको जिकिर गरे । राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको उनको भनाई छ । उनले राहत वितरणलाइ एकद्धार नीति बनाइने पनि बताए । उनले सरकार प्रो एक्टिभ भएर परिचालित भएको धारणा राखे । यस्तै बैठकमा राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका तर्फबाट दोश्रो वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको अर्को बैठक असार २१ गते सोमबार १ बजे बोलाइएको छ ।  
प्रकाशित मिति: आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update