काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली हटाउँदै निषेधाज्ञा थप गरिएको छ ।
आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउदै असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने गरी स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ । यस्तै, सफा टेम्पु र निलो माइक्रोलाई स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालन गर्न अनुमति दिइएको छ । प्रशासनको अनुमतिमा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारीसाधनहरु उपत्यकामा प्रवेश गर्न पाउने छन् ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा एउटा हलमा २५ जनाभन्दा बढी बस्न नपाउने गरी परीक्षा स्थान सञ्चालन गर्न दिने उल्लेख छ । अन्य व्यवस्था भने यसअघिकै निरन्रता भएको प्रशासन कार्यालयले जनाएको छ ।
देशभर कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्