वाग्मती प्रदेशसभाको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश भोलि असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको लागि आजै अपराह्न ३ बजेको समय राखिएकामा पुनः विशेष कारणवश बैठकलाई स्थगित गरी भोलि दिनको १ बजे बस्ने गरी सूचना सम्प्रेषण गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
प्रदेशसभाको बैठकमा हिजो विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा आज हेटौँडामा बसेको सर्वदलीय बैठक भएको थियो ।
बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए । उनिहरुबीच भोलि असार २१ गते दिन १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए ।
भोलि बस्ने प्रदेशसभाको पहिलो बैठकमा सर्वदलीय बैठकमा सहमति भएअनुसार सरकारको तर्फबाट एक मन्त्रीले सरकारले ल्याएको बजेटमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने र प्रतिपक्षीले उठाएका विषयमा स्पष्टीकरण दिने र उनिहरुले व्यक्त गरेको भावनालाई कदर गर्दै विनियोजित बजेटमा फेरबदल हुनसक्ने सम्भावना रहेको प्रमुख सचेतक निरौलाले बताए । रासस
प्रकाशित मिति: आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्